0

भुटानलाई २-१ ले हराउँदै नेपालले जित्याे साग फुटबलकाे स्वर्ण पदक


काठमाण्डौ - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ ।

खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए । त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो ।

तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो । ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन् ।
भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन । तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ । केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ ।

यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४-० ले हराएकाे थियाे ।
नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । नेपालको खेल हेर्न दशरथ रंगशालामा दर्शकको खचाखच उपस्थिति रहेको थियो ।

News Source : Ujyaalo
Photos.: Facebook 


Post a Comment

 
Top